Thursday, July 23, 2015

लम्जुङ्ग मा बिकास बजेट १५ करोड ४६ लाख रुपैयाँ फ्रिज

लम्जुङ्ग, साउन (लम्जुङ्ग खबर)
भर्खरै सकिएको आर्थिक बर्ष २०७१÷०७२ मा लमजुङको विकास निर्माण लगायतका क्षेत्रमा आएको कुल बजेटबाट १५ करोड ४६ लाख रुपैयाँ फ्रिज भएको छ । बैशाख १२ गते गएको महाभुकम्पले बजेट खर्च तथा विकास निर्माणका काम तिब्र पार्न नसक्दा यत्तिका रकम फ्रिज भएको कार्यालयहरुले जनाएको छ । गत आर्र्थिक बर्ष लमजुङको विकास र समृद्धीका लागी दुई अर्ब ३८ करोड, ९५ लाख ५३ हजार रुपैयाँ बजेट आएको थियो ।
लमजुङमा रहेका सबै सरकारी कार्यालयमा गत बर्ष पुँजीगत तर्फ ३० करोड २८ लाख २९ हजार रुपैयाँ बजेट आएकोमा ८ करोड ४६ लाख रुपैयाँ फ्रिज भएको छ । जिल्लाको विकास निर्माण लगायत आम नागरिकले प्रत्यक्ष सेवा पाउने पुँजिगत खर्चबाट एक तिहाई बढी बजेट फ्रिज भएको हो । फ्रिज भएको रकम जिल्लाको मोटरबाटो लगायत पुर्वाधार विकासका रहेका छन् ।
यस्तै चालु तर्फ लमजुङमा गत आर्थिक बर्ष दुई अर्ब, ८ करोड ६७ लाख २४ हजार रुपैयाँ बजेट आएको थियो । उक्त बजेट जिल्लामा अनुदान तर्फका र सरकारी कार्यालयका निमित कार्यालय संचालन, कर्मचारीको तलब भत्ता लगायतमा खर्च हुने गर्छ । चालु तर्फको बजेटबाट सात करोड रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । फ्रिज भएको रकम दरबन्दी भएर पनि खाली रहेका कर्मचारीको तलब भत्ता, कार्यालय संचालनमा बाँकी रहेका रकम र सरकारले कार्यालयहरुमा पठाएको अनुदान तर्फका रकम रहेका छन् ।
लमजुङमा रहेका ३० वटा सरकारी कार्यालयबाट बर्षेनी करोडौँ रुपैँया विकास बजेट फ्रिज हुने गर्छ । पुर्वाधार विकासमा आएको बजेट कार्यान्वयन गर्न उपभोक्ता समितिमा हुने ढिलाई र राजनितिक दलहरुको विबादले आर्थिक बर्षको अन्त्यमा काम गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण जिल्लामा आएको बजेट उपलब्धीमुलक रुपमा खर्च हुन सकेको छैन ।
अघिल्ला आर्थिक बर्षहरुमा भन्दा यसबर्ष दोब्बर बजेट फ्रिज भएको बताईएको छ । बैशाख १२ गतेको भुकम्पका कारण बजेट धेरै बजेट फ्रिज भएको सरकारी कार्यालयका प्रमुखहरुको दाबी छ । तर गत बर्षको साउन देखि नै गर्नुपर्ने काम आर्थिक बर्षको अन्त्यमा आएर कार्यान्वयनमा जाँदा पुर्वाधार निर्माण उपलब्धीमुलक हुन नसक्ने र कागजमा मात्र सिमित हुने सर्वसाधरणको भनाई रहेको छ ।
स्रोत:- रेडियो मर्स्याङ्दी

No comments:

Post a Comment