काठमाडौं- लगातार दुई खेलमा खराब प्रदर्शन गरेको नेपाली क्रिकेट
टोलीले विश्व ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगितामा
शुक्रबार पपुवा न्युगिनी (पिएनजी) को सामना गर्नेछ।
अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने
लक्ष्यसाथ आयरल्यान्ड पुगेको नेपालले चारमध्ये एक खेल जित्दै ३ अंकसाथ
समूह 'ए' को पाँचौं स्थानमा छ।
प्रतियोगितामा अघि बढ्न नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाव छ।
पिएनजी र जर्सीसँग हुने खेल डब्लिनमा हुनेछ।
यसअघिका खेल सबै खेल नेपालले बेलफास्टमा खेलेको थियो।
तीनमध्ये दुईमा जित निकालेको पिएनजी ५ अंक लिएर
दोस्रो स्थानमा छ।
अमेरिकालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको
नेपालको दोस्रो खेल वर्षाले रोकिएपछि नामिबियासँग अंक बाँड्नुपरेको थियो। तेस्रो
खेलमा सहआयोजक आयरल्यान्डका बलरसामु नेपाली ब्याट्सम्यान
निरीह बन्दा टोलीले लज्जास्पद हार बेहोरेको थियो।
आयरल्यान्डसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अहिलेसम्मकै कम
स्कोरमा समेटियो। नेपालले १४.३ ओभरमा ५३ रनमा जोड्यो। जवाफमा घरेलु
टोलीले ८ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
आयरल्यान्डसँगको खराब ब्याटिङले हङकङविरुद्धको खेलमा पनि निरन्तरता
पाउँदा नेपालको विश्वकप छनोट यात्रा कठिन मोडमा पुगेको हो। अग्रपंक्तिका
ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानले
नेपालको इनिङ उकास्ने प्रयत्न गरेका थिए। तर, त्यो जितका लागि पर्याप्त
भएन। नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले ५ विकेटमा ५
बलअघि पूरा गरेको थियो।
अन्तर्राष्ट्रिय ट्वान्टी–२० मा नेपाल र पिएनजीको
खेल बराबरीको स्थितिमा छ। दुईमध्ये नेपालले एकमा जित र एकमा
हार सामना गरेको छ।
युएईमा भएको २०१२ को ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल ३५
रनले पराजित भएको थियो। २०१३ मा युएईमै भएको छनोट प्रतियोगितामा
पिएनजीलाई ७ विकेटले हराएको नेपालले प्रतियोगितामा तेस्रो हुँदै
विश्वकपका लागि बंगलादेश यात्रा तय गरेको थियो। उक्त खेलमा अविजित ५१ रन
बनाएर नायक बनेका विनोद भण्डारी जारी प्रतियोगितामा
टोलीमा पर्न संघर्ष गरिरहेका छन् भने ३८ रन प्रहार गरेका
सुवास खकुरेलको हालत पनि त्यो भन्दा माथिको छैन। त्यस्तै उक्त खेलमा
तीन विकेट लिएका कप्तान पारस खड्काले प्रतियोगितामा अहिलेसम्म
एक विकेटमात्र लिएका छन्।
बुधबारै प्रतियोगिताकै प्रमुख दाबेदार मानिएको आयोजक आयरल्यान्डलाई २
विकेटले हराउँदै पिएनजीले आफ्नो दरिलो उपस्थिति देखाइसकेको छ।
त्यसअघि हङकङविरुद्धको खेल वर्षाले प्रभावित भएर अंक बाँडे पनि
पिएनजीले जर्सीलाई २४ रनले हराएको थियो।
जारी प्रतियोगितामा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले
सबैभन्दा धेरै ५४ र शरद भेषावकरले ३५ रन बनाएका छन्। बलिङतर्फ भने
नेपाल स्पिनरकै भर पर्नुपरेको छ। अनुभवी बलर वसन्त
रेग्मीले ७ विकेट लिइसकेका छन् भने शक्ति गौचनको नाममा
तीन विकेट छ। त्यस्तै तीब्र गतिका सोमपाल
कामीले ५ विकेट लिएका छन्।
स्रोत:- नागरिक न्युज
No comments:
Post a Comment