Monday, November 14, 2016

अस्पताल शैयाबाट सहयोग माग्दै १३ बर्षिय बालक

विचौरका १३ वर्षिय आइते गुरुङको दुवै हात भाँचिएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर उनको दुवैहात भाँचिएको हो ।

घरको काममा सहयोग गर्ने क्रममा उनि घाँस काट्न गएका थिए । “रुख खासै अग्लो थिएन, चिप्लीएर लडेँ, दुवै हात भाँचिएको रहेछ” गुरुङले भने ।

जिल्लाकै दुर्गम विचौर गाविस मरहट्टा गाउँका गुरुङलाई अस्पताल ल्याईपु¥याउन दुई दिन लाग्यो । जिल्ला सामूदायिक अस्पतालमा उनी उपचारको क्रममा रहेका छन् ।

स्थानिय विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दै आएका आइते अहिले अस्पतालमा भर्ना भएका छन् । अस्पतालका चिकित्सकका अनुसार दुवै हातका दुवै हड्डी भाचिएको छ । उनको उपचारको लागि दुई लाख भन्दा बढि लाग्छ ।

आर्थिक अवस्था कमाजोर भएकोले उपचार खर्च नपाएर उनको परीवार चिन्तामा परेको छ । पारिवारिक अवस्था कमजोर भएकोले उपचारको निम्ती सहयोग जुटाईदिन उनले आग्रह गरेका छन् ।

“बुबा आमा राम्रोसँग बोल्न पनि सक्नुहुन्न, मैले त्यत्रो पैसा कहाँबाट ल्याउने ?” आइतेले भने “कसैले सहयोग गरीदिए हुन्थ्यो ।”

आइतेको साथमा उनका बुबा सम्शेर बहादुर पनि आउनुभएको छ । तर उहाँलाई पैसा कती लाग्छ, कसरी जुटाउने भन्नेसम्म थाहा हुन सकेको छ्रैन ।

दुवै हात भाँचिएकोले आइतेलाई अहिले खुट्टामा स्लाईन पाईप लगाएर औषधी दिइएको छ । उनको दुवै हात सुन्नीएकोले अस्पताल शैयामा झुण्डाएर राखिएको छ ।

हात भाँचिएर भएको दुःखाईसँगै आईतेले आफ्ना ब्यक्तीगत कठिनाई भोग्दै आएका छन् । दुवैहात काम गर्नसक्ने अवस्थामा नहुँदा छिटो उपचार भएर निको हुने उनको चाहाना छ ।

कसैले उपचारमा सहयोग गरीदिए ठूलो भएपछि कमाएर जसरी पनि तिर्ने उनि बताउछन् । उनि भन्छन् “मलाई सहयोग गरीदिनुस्, मेरो उपचार गरीदिनुस, ठूलो भएपछि कमाउछु र तिर्छु ।”

@लमजुङ्ग खबर-Lamjung khaber

1 comment:

  1. I want to contact this person and need help to get there. Could someone pass me his contact details.

    ReplyDelete