Saturday, November 12, 2016

अस्ताए शैक्षिक क्षेत्रका कुशल समाजसेवी एबमं "माइक्रोसफ्ट देखि बाहुनडांडा सम्म" का पात्र पशुपतिनाथ

लमजुङ डेली डटकम, २७ कात्तिक । लमजुङस्थित राइनास नगरपालिका– ११ बोराङमा जन्मनुभएका बरिष्ठ समाजसेवी, कुशल शिक्षक तथा ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ का पात्र पशुपतिनाथ न्यौपानेको ६५ बर्षको उमेरमा दुखद निधन भएको छ ।
सबैका आँखाका नानी बन्नुभएका न्यौपानेलाई सामान्य बिरामी भएपछि पोखरा लगिएको थियो । उहाँको पोखरामा उपचारका क्रममा निधन भएको बताइएको छ । उहाँ प्रेसरको बिरामी हुनुहुन्थ्यो । शुक्रबार उहाँ प्रेसरको बिरामी हुनुहुन्थ्यो । शुक्रबार घरको भ¥याङ ओर्लने क्रममा लडेपछि उहाँलाई पोखरा लगिएको थियो ।

फाइल तस्बिर : नातिनी रसनाको पढाई खर्चका लागि पुस्तक बेच्दै पशुपतिनाथ न्यौपाने । तस्बिर : आश गुरुङ


प्यारजुङस्थित बुद्धमिलन माविका संस्थापक प्रधानाध्यापक रहनुभएका उहाँले ०२८ देखि ०५० सालसम्म स्कुलमा बिताउनुभयो । उहाँले ०५० देखि ०६१ सम्म शिक्षा कार्यालयको स्रोतव्यक्ति भएर समेत काम गर्नुभएको थियो ।
केही बर्षदेखि उहाँले सदरमुकाम बेसीसहरमा सामुदायिक उत्थान संस्था नेपाल (सोकोड नेपाल) नामक गैरसरकारी कार्यालय चलाउँदै आउनुभएको थियो । उहाँ ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष पनि हुनुहुन्थ्यो । ०५६ सालमा कार्यक्षेत्र बाहुनडाँडा र घेर्मु हुँदा ङादीबजारमा माइक्रोसफ्ट कम्पनीका संस्थापक जोन उडलाई भेटेपछि उहाँले ४ घण्टा नेपालको शिक्षाबारे समेत बताउनुभएको थियो ।
न्यौपानेले उडलाई बाहुनडाँडास्थित चन्द्रोदय माविमा लगेर विद्यालय देखाउनुभएको थियो । उडले ङादी बजारमा बियर बोत्तललाई खोलाको चिसो पानीमा डुबाएर आफ्ना पाहुनालाई खुसी पार्दै गरेको बालकको कथाबाट सुरु भएको ‘लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’ नामक पुस्तक लेखेका थिए । जुन न्यौपानेको प्रेरणा थियो ।
यही पुस्तकलाई खगेन्द्र संग्रौलाले ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ भनेर नेपालीमा अनुवाद गरेका थिए । उक्त पुस्तकको विमोचन भने पशुपतिनाथले नै गर्नुभएको थियो ।
साहित्यमा बिशेष रुचि राख्ने भएकाले न्यौपानेले यसअघि बोराङदेखि बाहुनडाँडासम्मका कविता संग्रह ०६८ सालमा प्रकाशित गर्नुभएको थियो । उहाँद्धारा हालसालै प्रकाशित हाम्रा चाडपर्वहरू (बाल सन्दर्भ सामग्री) असार २९ गते भानुजयन्तीको दिन विमोचन गरिएको छ । गाउँखाने कविता (प्रश्नोत्तर माला) हालै विमोचन गरिएको छ ।
यस्तै, उहाँले ०७२ मा रसनाको विषयमा यथार्थ बालकाव्य ‘कति बाठी रसना’ प्रकाशित गर्नुभएको थियो । साना बालबालिका लक्षित पुस्तकहरु लेखिरहने न्यौपानेका केही कृति तथा पुस्तकहरु प्रकाशनका क्रममा समेत रहेका थिए ।
नातिनीको पढाईका लागि समेत पशुपतिनाथ न्यौपानेले लमजुङका सहरबजारमा पुस्तक बेच्दै हिँड्नुभएको थियो ।  नातिनीलाई पैसा जुटाउन उनले ४ वटा पुस्तक आफैं प्रकाशन गर्नुएको थियो ।
कविता, कथा र बालबालिकाहरुको रुचिका पुस्तकहरु लेखिरहने न्यौपाने अस्ताउँदा सिंगो लमजुङ र मुलुकमात्रै नभई अन्तराष्ट्रिय क्षेत्रलाई नै अपुरणिय क्षति भएको छ ।
जेष्ठ नागरिकहरुको हक हितका लागि सधैं लडिरहने, आवाज उठाइरहने न्यौपानेको दुखद निधनले आम जेष्ठ नागरिकहरुको मात्रै नभई संघसँस्था, कार्यालय प्रमुख, शिक्षक, विद्यार्थी सबै भावविब्हल भएका छन् ।
-lamjung khaber

No comments:

Post a Comment